काठमाडौँ, १५ साउन । मादक पदार्थ सेवन (मापसे)गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र(लाइसेन्स) निलम्बन भएको छ ।
यातायात व्यवस्था कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका ४३९ व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो ।
विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो ।
महाशाखाका अनुसार आव २०७४/०७५ मा २२ हजार २२६ चालक मापसेमा कारवाही परेकामा आव २०७५/०७६ मा २१ हजार ९७३ चालक कारवाहीमा परेका थिए ।
उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो ।










प्रतिक्रिया दिनुहोस्