काठमाडौँ, १६ साउन । आपराधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएकाले पर्वत जिल्लामा १८ वर्षमुनिकाले मदिरा किन्न नपाउने भएको छ ।
१८ वर्ष उमेर नपुगेका बालबालिकालाई मदिरा बिक्री वितरण नगरिने र खुद्रारुपमा मदिरा बिक्री गर्नेले साँझ ५ बजेदेखि राति १० बजेसम्म बिक्री गर्न पाउने तर दिउँसोको समयमा बिक्री वितरण नगरिने भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको बैठकले मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।
अन्तःशुल्कको स्टिकर नलगाइएका मदिरा बिक्री वितरणमा रोक लगाइने र यसलाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ । बैठकमा प्रत्येक होटल व्यवसायीले अनिवार्यरुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने तथा होटलमा बास बस्न आउने पाहुनाको यथार्थ विवरण राख्ने निर्णय पनि गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्