भक्तपुर, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा शैक्षिक प्रमाणपत्र बोकेर ठूला ठूला मान्छे तथा नेताको घरमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै विद्यार्थीलाई सिपमूलक तथा प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित कटुञ्जे आधारभुत विद्यालयको भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा विकासको लहर आएको बताउँदै ढल तथा खानेपानीको समस्या समाधान हुने विश्वास दिलाउनुभयो । उहाँले प्राणी उद्यान केन्द्र, विभिन्न प्रकारका पार्कलगायतका बन्ने प्रकृयामा रहेको समेत जानकारी गराउनुभयो ।
भुकम्प पछि भक्तपुरबाट पुननिर्माणका सवालमा देशभर सिक्नु पर्ने प्रकारले काम भएको बताउँदै उहाँले स्थानीय तहको तदारुकता नै भक्तपुरको सूर्यविनायक नगरपालिकाको शिक्षा क्षेत्रमा ठूलो उपलब्धी हासिल गरेको बताउनुभयो ।
एसइइ परिक्षामा भक्तपुरले उल्लेख्य मात्रामा प्रगति हासिल गर्न सफल भएको बताउँदै उहाँले अबका दिनमा शिक्षा आफै स्वरोजगार बन्नुपर्ने प्रकारको हुनुपर्ने साथै विद्यालयले प्राविधि शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उहाँले भक्तपुरमा ५५ वटा विद्यालय पुर्ननिर्माण सम्पन्न भएको र सूर्यविनायक नगरपालिका क्षेत्रमा मात्रै २१ वटा विद्यालय पुर्ननिर्माण सम्पन्न भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले अब विद्यालयहरुले सीपमा आधारित शिक्षा दिनु पर्नेमा जोड दिनुभयो ।
उहाँले कटुञ्जेको शुसिला भैरवबाट ललितपुरको लुभु जाने, कटुञ्जेबाट बलचौर सडक, वडा कार्यालयबाट कोटडाँडा गुण्डु जाने सडक, चुनदेवी तीनधारा सडक, प्रधानमन्त्री स्वरोजगार कोषबाट कटुञ्जे तीनधारा सडक निर्माण सुरु भई यसै वर्ष कालोपत्र हुने बताउनुभयो ।
यो क्षेत्रमा अब खानेपानीको समस्या सबै समाधान गर्ने गरि कार्यक्रम अगाडि बढाएको बताउदै उहाँले उलका लागि एक करोडको बजेट विनियोजन भईसकेको बताउनुभयो । सांसद बस्नेतले कटुञ्जेको बनाचौरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सहित १०० शैयाको अस्पताल निर्माण गर्ने तयारी गरेकाले त्यस्ता विकासका काममा राजनीतिक आग्रह भन्दा माथि उठेर जानु पर्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धि गर्न नगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा भूकम्प प्राधिकरण शिक्षा तर्फका भक्तपुर प्रमुख डिल्लीश्वर प्रधान, सूनपा ५ का वडा अध्यक्ष राजकुमार जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज थापा लगायतले सूर्यविनायकलाई शिक्षामा भौतिक र गुणस्तरीय क्षेत्रबाट उत्कृष्ट बनाउनु पर्नेमा जोड दिनुभयो ।
२०७२ सालको महाभूकम्पले क्षति भएको उक्त विद्यालय भवन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेपछि आज विद्यालयलाई भवन हस्तान्तरण गरिएको हो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा)को ८७ लाख ७ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको दुईतले भवन हस्तान्तरण एवं उद्घाटन गरिएको हो ।
त्यसैगरि सोही कार्यक्रममा नगरप्रमुख बाशुदेव थापाले प्राधिकरण कै ६९ लाखको लागतमा विद्यालयमा निर्माण हुन लागेको अर्को नयाँ भवनको समेत शिलन्यास गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्