विश्व

दुई जनालाई मृत्युदण्ड, १०० जना मृत्युदण्डको पखाईमा



एजेन्सी, १९ साउन । जापानले हत्या गरेको आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ ।

मृत्युदण्ड दिइएकाहरुमा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन् । शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो ।

यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो ।

जापानका कानुनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात् मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको संवाददाताहरुलाई बताएका छन ।

जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन् । विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतका अन्तर्राष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।