काठमाडौँ, २२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सानलाई जहाजकै उचाइ बराबर पु¥याउने गरी सुधारको काम गरिने बताउनुभएको छ ।
राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग मंगलवार सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले निगमको हालको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाइझैँ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटनमन्त्री भट्टराईले मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम अघि बढाउने उल्लेख गर्दै आफू मन्त्रालयमा रहुञ्जेल सम्पूर्ण तागत र इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास दुवै कार्यलाई सँगसँगै अघि बढाइने उल्लेख गर्नुभयो ।
पर्यटन क्षेत्रमा धेरै ठूला कुरा नगरिकन सामान्य सुधार गर्ने हो भने पनि परिणाम निस्कने उल्लेख गर्दै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, निमार्णाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाइने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्