सम्पादकीय

मान्छे तान्ने त्रिशुली : दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्



नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् ।

कतिपय सवारीसाधन नदीमै हराउँछन् । दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ ।

अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे । भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४/७५ मा १४ वटा गाडी नदीमा खसेका थिए। तिनमा २२ जनाको मृत्यु भयो ।

०७५/७६ मा १५ वटा गाडी त्रिशूली खसे भने २६ जनाले ज्यान गुमाए । साउनमा मात्रै चार वटा सवारीसाधन त्रिशूलीमा खसेका छन् । त्यसअघि पनि थुप्रै गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन् ।

०७३ असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी घोप्टेभीरबाट दुई सय मिटर त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । घटनामा चार जनाको मृत्यु भएको थियो । घिमिरेसहित दुई बेपत्ता भए । गोताखोरले पानीको गहिराइमा पुगेर खोज्दा पनि गाडी भेट्न सकेनन् । त्यसको केही दिनअघि मालवाहक ट्रक खसेर नदीमा गायब भएको थियो ।

०७३ भदौ १० गते रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो । ०७३ साउनदेखि माघसम्म मात्रै २१ वटा गाडी त्रिशूलीमा खसेको तथ्यांक छ । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा २०७४ असार ९ गते पहिरो पन्छाउने क्रममा पहिरोले बगाएर त्रिशूलीमा डुबेको प्रहरीको भ्यान बेपत्ता छ । घटनामा प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।