समाचार

११ वटा वडा कार्यालय फोर्ने थापा पक्राउ



पोखरा, २९ साउन । पोखरामा श्रृंखलाबद्ध ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौँ ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार वडा कार्यालयमा चोरीको श्रृंखला ३ जेठ ०७५ मा पोखरा १२ को वडा कार्यालयबाट सुरु भएको थियो । १ वर्षको अवधिमा पोखरा महानगरका १३, ५, ३१, ६, १४ २९, १६ लगायत ११ वटा वडामा श्रृंखलाबद्ध चोरी भएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सबै चोरीमा थापाको संलग्नता देखिएको प्रहरीले बताएको छ । रातको समयमा वडा कार्यालयमा चोरी गर्ने थापाले विद्युतीय उपकरणमात्र उठाउँथे । नजिकै निर्माणाधीन घरमा लुक्थे र विहानै गाडी चढेर काठमाडौँतिर हुइँकिन्थे । राति साढे ११ बजेदेखि साढे १२ बजेको बीचमा वडा कार्यालयमा चोर्ने गरेको खुलेको छ ।

काठमाडौँका थापाले पोखरा १० मा डेरा पनि लिएका रहेछन् । उनको कोठामा चोरीका सामान भेटिएनन्, तर चोर्न प्रयोग हुने सामानहरु भेटिएको प्रहरीले जनाएको छ । उनको डेराबाट चोरीमा प्रयोग हुने मास्क, क्यामेरा, स्क्रू ड्राइभर, पञ्जा, ट्रयाक, टोपी र लागु औषधसमेत फेला परेको प्रहरीले जनाएको छ ।