समाचार

हुलाक सेवा अब कहानीमा सीमित, न चिठी आउछन् न कर्मचारीलाई फुर्सद छ !



काठमाडौँ, ३१ साउन । समय परीवर्तन हुन कति बेर ! घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खवर पाउन कुनै समय कि हुलाकी कुर्नु पर्थ्यो कि त आकासवाणी (आवा) । अब न हुलाकीको समय छ न त आवाको । समयले कोल्टे फेरेको छ टाढा रहेका आफन्त साथीभाइ सँग चिठ्ठी पत्रमा हैन सिधै भिडियो च्याटमा गफिन सकिन्छ । मनको कुरा भन्न अव चिठी लेखिरहनु पर्दैन सिधै म्यासेन्जर, भाइवर, मोवाइलमा कुरा गरे वा म्यासेज पठाए पुग्छ । खाम बोकेर घर घर डुल्ने हुलाकी अव कहानी जस्तै बनेका छन् ।

नेपालमा विक्रम सम्वत् १९३५ मा नेपाल हुलाक घरको नामबाट स्थापना भई हुलाक सेवा प्रारम्भ भएको थियो । आज टेलिफोनको माध्यमबाट तुरुन्तै सन्देश संप्रेषण गर्न सकिन छ। त्यस्तै, इमेल र फ्याक्सबाट जस्ताको तस्तै चिठ्ठी पठाउन र पाउन सकिन्छ । समाजिक सञ्चालबाट भिडियो सहित कुराकानी गर्न सकिन्छ ।

 यस्तो सूचना प्रविधिको पहुँचका कारण चिठ्ठीपत्रको काम कम हुदैं गएको गोश्वारा हुलाक कार्यालय सुन्धाराकी शाखा अधिकृत निर्मला थापा बताउँछिन् । यस्तै, सूचना प्रविधिको पहुँच भएका र नभएका दुबै स्थानहरुमा हुलाक सेवालाई वैकल्पिक माध्यमको रुपमा प्रयोग गर्न चाहने वर्गलाई सेवा उपलव्ध गराउने कार्य हुलाक सेवाले गर्दैआएको उनले बताइन् । व्यत्तिगत चिठ्ठी पत्रको काम घट्दो भएपनि पार्सलको काम भने निरन्तर नै चलिरहेको उनी बताउँछिन् ।

देशभरीमा हुलाक सेवा कार्यालयहरुमा १७ हजार कर्मचारी कार्यरत छन् ।  तर अझै ३५ प्रतिशत कर्मचारीको अभाव भएको हुलाक सेवा विभागका महानिर्देशक देवी प्रसाद ज्ञवाली बताउँछन् । हुलाक सेवाको परम्परागत कार्य क्षेत्र घट्दो भएतापनि पछिल्ला दिनमा पुलिन्दा सेवा, हुलाक बचत बैंक सेवा, धनादेश सेवा, टेलिसेन्टर सेवा आदि मार्फत हुलाकले सेवा प्रदान गर्दै आएको महानिर्देशक ज्ञवालीकाे भनाइ रहेकाे छ । यो खबर आजकाे नागरिक दैनिकमा छ ।