समाचार

बिदेसिनेका व्यथा : आफ्नैले ठग्छन्



काठमाडौँ, ३२ साउन । सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन् ।

सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने विषय सायदै बाँकी थिए । अनेक दुःख सुख उनीहरू र आफन्तले सल्टाएका कैयौं उदाहरण छन् ।

तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ । एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन् । उनीहरु एकले अर्कोलाई गलत साबित गर्ने प्रयासमा छन्। यसको कारण हो– वैदेशिक रोजगारी ।

घटना साढे चार महिनाअघिको हो । गाउँमा जति मेहनत गर्दा पनि कमाएको रकमले गुजारा गर्न नसकेपछि सतेन्द्रले सहपाठी सुरेशलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए । अनि सुरेशले काठमाडौंमा आफ्ना भिनाजुले म्यानपावर कम्पनी चलाइरहेको उल्लेख गर्दै तुरुन्तै वैदेशिक रोजगारीमा पठाइदिने प्रतिबद्धता जनाए ।

आफ्नै साथीले राम्रो काम खोजेर विदेश पठाइदिने बताएपछि सतेन्द्र ढुक्क भए । यस्तो कुरा भएको एक सातापछि सुरेशले कतारबाट राम्रो पारिश्रमिक पाइने कामको माग आएको बताउँदै पाँच दिनमा एक लाख ५० हजार रुपैयाँ तयार गर्न भने । १० हजार रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारीमा जान पाइन्छ भन्ने चर्चा सुनेका सतेन्द्रले त्यो रकम धेरै भएको बताए । यो समाचार आजको नागरिकमा छापिएको छ ।