नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन् ।
उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ । अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ । यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टी्भित्र बलिया बन्नेछन् ।
दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए ।
गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए । त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो । तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्