सम्पादकीय

संरचना गठनमा जुट्यो कांग्रेस



नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ । संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो ।

कांग्रेसको अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको थियो ।

निर्देशिकाअनुसार पार्टीको केन्द्रीय निर्वाचन समिति संरचना समायोजनमा जुटेको हो। राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिले आइतबार पार्टी सभापतिसहित पदाधिकारीसँग छलफल गरेको छ ।

‘निर्देशिकाबारे हामीले छलफल गरेका हौं,’ समिति संयोजक अधिकारीले भने, ‘निर्देशिकामा कतिपय कुरा दोहोरिएका छन्, केही बुँदा दोहोरो अर्थ लाग्ने खालका पनि छन् । ती विषयमा प्रस्ट पार्ने काम भयो ।’

समिति निर्देशिकाअनुसार स्थानीय संरचना निर्माणमा जुटेको उनले जानकारी दिए । निर्देशिकामा भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समिति गठन गरिसक्नुपर्ने उल्लेख छ भने स्थानीय तहमा कात्तिक मसान्तभित्र अन्तरिम संरचना गठन गर्नुपर्ने कार्यतालिकामा तोकिएको छ।

निर्वाचन समितिसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले सहमतिमै सबै निकायमा पार्टी संगठन समायोजन गर्न सुझाव दिएका थिए । ‘सभापतिज्यूको भनाइ यथासक्य चाँडो वडा तहसम्म पार्टी संरचना बन्नुपर्छ भन्ने नै हो,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने, ‘सबै ठाउँमा सहमतिमा संरचना निर्माण गर्न उहाँले सुझाव दिनुभएको छ ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।