सम्पादकीय

महिलाको मुद्दामा अदालतसँग न आस न भरोसा



छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् ।

लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षाैंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्राथमिकता दिने गरेको पाइएको छ ।

जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्ने महिला हिंसा, बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् ।

जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वोच्चमा दायर भएको बलात्कारको एक मुद्दा । सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ ।

बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्षअधि सामूहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेस पेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे ।

न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्दामा २२ फागुन २०६९ मा पीडकलाई ८ वर्ष कैद र ५ हजार जरिमानाको फैसला सुनाइयो । तर, तत्कालीन पुनरावेदनका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुवैलाई सफाइ दियो । जसले पूजाको घाउ थप बल्झायो । उनले राष्ट्रिय पत्रिकामार्फत तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई खुलापत्र लेखिन्, ‘मेरो जीवन निमोठ्ने निर्दोष हुन् ?’

उनको खुलापत्रका कारण सामाजिक बहस सुरु भयो । २ पुस २०७१ म दर्ता भएको मुद्दाको अहिलेसम्म छिनोफानो भएको छैन । पूजाले पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा चार प्रधानन्यायाधीशले आफ्नो कार्यकाल पूरा गरिसके । तर, कसैले पनि उनको मुद्दा हेर्ने जाँगर चलाएनन् । सो मुद्दाको टुंगो कहिले लाग्छ, अझै भन्न सक्ने अवस्था छैन ।
पूजाको मुद्दामा बहस गरिरहेका अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘अदालतले किन पटक–पटक पेसीबाट हटाइरहेको छ, बुझ्न सकेको छैन ।’

सबै प्रक्रिया पुगेको सो मुद्दामा किन पेसी स्थगित गराइरहेछन् भन्ने गम्भीर प्रश्न उब्जेको अधिवक्ता नेपालले बताए । ‘साप्ताहिक पेसी पटक–पटक जानकारीबिना सर्वोच्च अदालले हटाउँदै आएको छ,’ उनले भने, ‘किन हटाएको भन्दा जवाफ आउने गरेको छैन ।’ सो मुद्दाको पेसी आगामी १३ भदौका लागि तोकिएको छ । उनको मुद्दामा पेसी तोकेर १५ पटक हेर्न नभ्याउने सूचीमा परिसक्यो । तीनपटक स्थगित र एकपटक फाइल मगाउने आदेश भएको थियो । सो मुद्दा दुईपटक साप्ताहिक पेसीबाट हटाइएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।