राजनीति

विकासमा बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल



दाङ, २ भदौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकासका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै ठेगदारको बदमासीले कतिपय कामहरु ढिलाई हुने गरेको बताउँदै बदमास गेगदारलाई तह लगाउने प्रकारको कानुन निर्माण हुने बताउनुभएको छ ।

बबई गाउँपालिकाले दाङमै पहिलो पटक निर्माण गरेको पहिलो सरकारी सभाहलको उद्घाटन गर्दै पोखरेलले विकासप्रति जनताको आकांक्षालाई अहिलेको सरकारले नजिकबाट हेरीहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कति काम गर्न सक्नु हुन्छ त्यति बजेट लैजानुहोस भन्ने गरेको छु । हिजो काम गर्न चाहन्छौँ, पैसा भएन भन्ने कुरा थियो । आज हामी पैसा दिन्छौँ काम कति गर्नु हुन्छ भन्ने कुरा गरिराखेका छौँ ।’

उहाँले विशेष कारण देखाएर एक वर्ष ढिलासम्म बाहेक त्यो भन्दा काममा ढिला गर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने वा त्यस्ताको लाईसेन्स जफत गर्ने गरी कानुन निर्माण गरिरहेको जानकारी गराउनुभयो । प्रदेशभर विजुली बत्ति नपुगेका बस्तीहरुमा तीन वर्षभित्र ९० प्रतिशत अनुदान दिएर सोलार जडान गरि सक्ने योजना रहेको उहाँले बताउनुभयो । त्यस्तै तीन वर्षभित्रै खानेपानी सबै बस्तीमा पुर्‍याउने समेत उहाँले दावी गर्नुभयो ।

तीन वर्षभित्रै प्रदेशभरका खरका छाना विस्थापित गरेर जस्तापाता लगाई सक्ने उनले आश्वासन दिए। प्राविधिक शिक्षा, स्वास्थ्य, निशुल्क विरुवा उपलब्ध गराउने, मुक्त कमैया, दलित र मुस्लिमका छोरा छोरीलाई उच्च शिक्षाको लागि मासिक १ हजार प्रदान गरिने उहाँले बताउनुभयो ।लमहीदेखि तुलसीपुरसम्मको सडक फोर लेनको रुपमा विस्तार हुन लागेको, अमेलियादेखि तुलसीपुरसम्मको सडक पुननिर्माणको प्रक्रिया अगाडि बढाइएको, बबई गाउँपालिकाको हापुरेदेखि सिधै कोहलपुर नेपालगञ्ज जोड्ने सडकको अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

दाङमा सिचाईको लागि माडी दाङ डाईभर्सन सरकारको नीति तथा कार्यक्रममा परिसकेको बताउँदै उहाँले अध्ययनको प्रक्रिया अघि बढेको बताउनुभयो । तुलसीपुरस्थित विजौरीको रंगशाला, घोराहीमा निर्माणाधीन रंगशाला र लमहीको क्रिकेट रंगशाला नेकपाको सरकारले निर्माण गरेको समेत उहाँले जिकिर गर्नुभयो ।