ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन् । खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्ने जनप्रतिनिधि मौन छन् ।
मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ । गाउँपालिका अध्यक्ष मोतीराज राईले टाढाका जनप्रतिनिधि र कर्मचारीले बैठक तथा ऐनकानुन र कार्यविधि निर्माण गर्दा बसोबास तथा खाना खर्च भएको हुन सक्ने बताए ।
उनले भने, ‘सुरुका चरणमा एकदुई महिना लगातार बैठक र कानुन निर्माण गर्ने काममा जनप्रतिनिधि र कर्मचारी खटिएका थिए । त्यसबेला खाना खाजा खाएका होलान्, यस्तो खर्चबारे मैले कर्मचारीसँग सोध्दा पनि यही बताए ।’
बैठक भत्ताबापत जनप्रतिनिधिले नियमअनुसार रकम लिने गरेका छन् । महालेखाले भने अनियमित खर्च भनेर लेखेको छ । लेखापरीक्षण प्रतिवदेन ०७४/०७५ को बुँदा नं. ४७ मा खानाबापतको उक्त रकमसहित भ्रमणभत्ता, सञ्चार खर्च र इन्धन मापदण्ड नबनाई अनियमित खर्च गरेको उल्लेख छ ।
गाउँपालिकाका लेखापाल दिनेश घिमिरे कतिपय अवस्थाबाहेक भत्ता लिएका कार्यक्रममा खानाको सुविधा गाउँपालिकामा नभएको बताउँछन् । खिजीदेम्बा गाउँपालिकाको खाजा तथा खानाको छुट्टाछुट्टै दुई विवरणमा १८ लाख १९ हजार ५ सय ५५ र १ लाख रुपैयाँ गरी १९ लाख १९ हजार ५ सय ५५ रुपैयाँ खर्च देखिएको छ ।
प्रतिवेदनमा यो खर्च पनि अनियमित भनेर औंल्याइएको छ । यस्तो विवरण आफ्नो गाउँपालिकाको नहुनुपर्ने भन्दै खिजीदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोक्काले आश्चर्य व्यक्त गरे । उनले भने, ‘यस्तो विवरण नहुनु पर्ने हो, पहिलाका लेखापाल सरुवा भएकाले नयाँ लेखापाललाई अध्ययन गर्न लगाउँछु ।’
खाना तथा खाजामा अनियमित खर्च गर्ने स्थानीय तहमा सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका पनि छ । नगरपालिकाले १८ लाख ६९ हजार ५ सय १० रुपैयाँ खर्च गरेको छ । चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार ६६ रुपैयाँ र सुनकोसी गाउँपालिकाले ६ लाख ८१ हजार ३ सय ५१ रुपैयाँ खाना तथा खाजामा मात्रै अनियमित खर्च गरेको पाइएको छ ।
त्यस्तै चिसंखुगढी गाउँपालिकाले ३ लाख ६७ हजार २० रुपैयाँ खर्च गरेको छ । तथ्यांकका हिसाबले चिसंखुगढीको खर्च सबैभन्दा कम छ । उल्लिखित ६ स्थानीय तहले एक आर्थिक वर्षमा गरेको खाना खर्च ७९ लाख ८५ हजार ५ सय ८९ रुपैयाँ खर्च गरेका छन् । सबै स्थानीय तहका खाना खर्च मापदण्ड नबनाई अनियमित तरिकाले गरेको लेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
प्रतिक्रिया दिनुहोस्