भक्तपुर,५भदौ । भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन परिवर्तन गरी भक्तपुर नगरपालिकाले नयाँ व्यवस्थापन गठन गरेको बिषयमा प्रतिनिधि सभाको बैठकमा आलोचना भएको छ । बैठकमा विशेष समय लिएर सांसद महेश बस्नेतले नेपाल सरकारको कार्यविधि अनुसार पनि भक्तपुर नगरपालिकाले उक्त अस्पतालमा हस्तक्षेप गर्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले ‘नाफारहित उद्देश्यले क्यान्सर रिलिफ सोसाइटीको व्यवस्थापनमा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेर आतंक सिर्जना मात्र गरेको छैन, उसले नेपाल सरकारको कार्यविधि समेत मिचेको छ ।
बस्नेतले नेपाल सरकारको कार्यविधि अनुसार नगरपालिका अन्तर्गत २५ बेडसम्मको अस्पताल सञ्चालन गर्न पाउछ, १०० बेडसम्मको अस्पताल प्रदेश अन्तर्गत रहन्छ भने त्यो भन्दा माथिको अस्पताल नेपाल सरकार मातहतमा रहने व्यवस्था रहेको बताउनुभयो ।
बस्नेतले भक्तपुर क्यान्सर अस्पताल निर्माण गर्ने क्रममा साढे ४ रोपनी जग्गा भक्तपुर अस्पतालले उपलब्ध गराएको बताउँदै ७ रोपनी जग्गा नेपाली सेनाको नाममा रहेको जग्गा भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले उक्त जग्गा आफूले उपलब्ध गराएको भन्दै आएता पनि उक्त जग्गा नगरपालिकाको नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुर क्यान्सर अस्पतालको ७ रोपनी जमिन नेपाली सेनाको नाममा रहेको जमिन हो । भक्तपुर नगरपालिकाले सिफारिस मात्र गरेको हो । यसमा नेपाल सरकारको २्र० करोड भन्दा बढी बजेट परेको छ ।’
भक्तपुर क्यान्सर अस्पताल उद्योग बाणिज्य महासंघ लगायत निजी क्षेत्रको सहयोग र भक्तपुरबासीको धेरैको चन्दा सहयोग तथा क्यान्सर रिलिफ सोसाइटी आफैले पनि चन्दा संकलन गरेर सञ्चालन गरेको बताउँदै सांसद बस्नेतले अस्पतालमा अनियमितता भएको भए त्यसको छानबिन गर्ने निकाय भक्तपुर नगरपालिका नभएको बताउनुभयो ।
त्यसरीनै अर्का सांसद गगनकुमार थापाले पनि भक्तपुर क्यान्सर अस्पतालमा रहेको व्यवस्थापन समिति गठन गरी भक्तपुर नगरपालिकाले नयाँ व्यवस्थापन समिति गठन गरेकोमा आपत्ति जनाउनुभयो । थापाले भन्नुभयो, ‘भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता भएको छ भने त्यसको छानबिन गर्ने र दोषीलाई दण्ड सजाय गर्ने कानुनको स्पष्ट प्रबन्ध छ ।
तर यी सबैलाई कुल्चेर भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समिति विगठन गरी भक्तपुर नगरपालिकाको प्रमुखको अध्यक्षतामा आफ्नै अध्यक्ष बन्ने कुरा गैरकानुनी छ र यसले अस्पतालमा थप अस्तव्यस्तता र अराजकताको सिर्जना गरेको छ ।
अस्पतालमा रानजीतिक हस्तक्षेप हुँदा यो अस्पतालबाट सेवा लिने हजारौं विरामी मर्कामा परेको बताउँदै सांसद थापाले यो बिषयमा सरकारले अविलम्ब आवश्यक पहल कदमी लिइ, सम्बन्धित सबै पक्षलाई कानुन बमोजिम गर्न लगाई सरकारको गम्भीरतापूर्वक लाग्न माग गर्नुभयो ।
सोही अस्पतालका बिषयमा उठेका बिषयमा विशेष समयमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले उक्त अस्पताल निर्माण गर्न आवश्यक करिब ६ रोपनी जग्गा भक्तपुर नगरपालिकाले उपलब्ध गराएको जिकिर गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्