चिन, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिनियाँ महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको प्रष्ट पार्नुभएको छ ।
चिनियाँ सरकारको निमन्त्रणमा चार दिने चीन भ्रमणमा रहनुभएका बरिष्ठ नेता खनालले चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तराष्ट्रिय एक्स्पो’ लाई सम्बोधन गर्दै दक्षिण एशियामा बिआरआईका विरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको बताउनुभयो ।
बरिष्ठ नेता खनालले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको प्रष्ट पार्नुभयो । उहाँले समझदारीपूर्व विभिन्न चरणमा द्विपक्षीयरुपमा विभिन्न समझदारी भएको स्मरण गर्नुभयो । ती समझदारीपत्र बिआरआईको आधारपत्र तयार गर्न सहायक भएको उहाँको भनाइ छ ।
नेता खनालले अब साँस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिनुभयो । बिआरआईको प्रवाभकारी कार्यान्वयनका लागि नेपाल–चीन आर्थिक करिडोरको विकास गर्न पनि खनालले प्रस्ताव गर्नुभयो । त्यसैगरी ‘ट्रान्स हिमालय इकोनोमी करिडोर’को स्थापना र नेपाल चीनबीचको रेल सञ्जालको सम्बन्धले सिल्क रोडको ल्हासा–काठमाडौँ–भारत खण्डलाई पुनःजीवित पार्ने र जसको लाभ नेपालले लिनसक्ने उहाँको भनाइ छ ।
खनालले भन्नुभयो, ‘काठमाडौँको साँस्कृतिक उत्कृष्टता चीनले आयात गरेको थियो, जुन आज पनि बेइजिङको सेतो प्यागोडाशैलीमा देख्न सकिन्छ, जुन अरनिकोद्वारा निर्माण गरिएको थियो ।’ पूर्वप्रधानमन्त्री खनालले अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, संस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा दुवै देशले सहकार्य गर्नसक्ने प्रशस्त सम्भावना रहेको पनि औंल्याउनु भयो । नेता खनालले भन्नुभयो, ‘आज नेपालले आर्थिक समृद्धि चाहेको छ, जुन दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुनसक्छ, कर नीति, कानून, नीति नियम र मुद्राको आदानप्रदानको सिधा प्रणालीलाई सहज बनाउने र अन्य गतिविधिमा दुई देशबीच एक समझदारी हुनु आवश्यक छ ।’
खनालले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन चीन सरकारको सहयोगको अपेक्षा गर्दै नेपालले चिनियाँ पर्यटकलाई दिनसक्ने सुविधाका बारेमा दुई देशकाबीच सहकार्य गर्न सकिने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्