Banner News

नेताका लिखित प्रतिवद्धतालाई छापेर सम्झना गराउने तयारी : मन्त्री विष्ट



काठमाडौँ, ८ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले लिखित प्रतिबद्धता जनाएर पनि सामाजिक सुरक्षा सूचीकरणमा नगएका नेताहरूका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन ।

आइतबार ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आयोजन गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले राजनीतिक दलका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् ।

उनले भने, ‘एकदमै ऐतिहासिक कार्यक्रम भनी प्रतिवद्धता जनाएका कतिपय नेताहरूकै कारखानाहरू, प्रतिष्ठानहरू पनि सूचीकरणमा आएका छैनन् । रोजगारदाता प्रतिनिधिहरूले मेरो यो भावनालाई विनम्रताका साथ उहाँहरूसमक्ष पुर्‍याइदिनुहोला । हामी नेताहरुका लिखित प्रतिवद्धतालाई छापेर सम्झना गराउने जमर्को गर्दैछौँ ।’

मन्त्री विष्टले सरकारले औद्योगिक क्षेत्रहरूमा कर्मचारी नै परिचालन गरी सबैको सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने काम गरिने बताए । समाजिक सुरक्षा सूचीकरणको अभियान अघि बढिसकेको र असोज मसान्तभित्र रोजगारदाता र श्रमिक दुवै सूचीकरणमा आउनै पर्ने भन्दै उनले सो क्रममा परेका अप्ठ्यारहरूलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए ।