राजनीति

पोखरा महानगरपालिका र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता



काठमाडौँ, २१ भदौ । पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ ।

विश्व कार्वन फोरम २०१९ को अवसरमा भएको त्रीपक्षीय साझेदारी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गरेका छन ।

सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिएको छ । स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट शहरका प्रविधिहरु, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान र पोखराको संस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ ।

सम्झौतापछि तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरीतगृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।