समाचार

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन



काठमाडौँ, २६ भदौ । डेङ्गु रोग काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा प्रकोपका रुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग प्रभावित जिल्ला तथा सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तथा बिदामा नबस्न निर्देशन दिएको छ ।

मन्त्रालयले सचिवस्तरीय सो निर्णय गर्दै पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई परिपत्र गरेको छ । पत्रमा प्रकोप फैलिएका क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागि प्रसूति, अध्ययन र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न नगराउनसमेत मातहतका निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा डेङ्गु रोग परीक्षण गराउन आउने बिरामीको सङ्ख्या अत्यधिक मात्रामा वृद्धि भइरहेको छ । मन्त्रालयका अनुसार सो रोग देशका ४८ जिल्लामा फैलिसकेको छ । वैशाख महीनायता करीब ७० हजारले सो रोगका बारेमा स्वास्थ्य परीक्षण गराएका थिए । तीमध्ये करीब पाँच हजार १०० मा डेङ्गु रोगको सङ्क्रमणबाट प्रभावित हुन पुगेका र छ जनाको मृत्यु समेत भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सो रोगका कारण सिन्धुपाल्चोकमा एक, सुनसरीमा एक, चितवनमा एक, काठमाडौँमा दुई र डोटीमा एक गरी छ जनाको मृत्यु भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भदौ १ गतेदेखि हालसम्म तीन हजार ६५४ जनामा डेङ्गु परीक्षण गरिएकामा दुई हजारभन्दा बढीमा डेङ्गु ‘पोजेटिभ’ देखिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले जानकारी दिनुभयो ।

प्रायः यस जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखापर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुची हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएका सरुवा रोग विशेषज्ञले बताउँछन् ।