राजनीति

कसैका सनक र लहडमा पार्टी एकता भएको हैन, दूरगामी सोचले गरिएको हो : अध्यक्ष प्रचण्ड



इलाम, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट पार्दै दूरगामी सोचले गरिएको बताउनुभएको छ ।

इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकतालाई हल्का रूपमा नलिनु होला । एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुन्छ । त्यो सबै मिलेकै कारण मात्र एकता सम्भव भएको हो ।”

विगतमा कम्युनिष्ट शक्ति विभाजित हुँदा गैर–कम्युनिष्ट शक्तिले प्रभाव जमाएको उल्लेख गर्दै अध्यक्ष दाहालले असल नेतृत्व र नेतृत्वशैलीको प्रभावले गर्दा मात्र एमाले र माओवादीबीच एकता सफल भएको दावी गर्नुभयो । उहाँले नेपालको कम्युनिष्ट एकताको बारेमा चर्चा गर्दै २०२८ सालदेखिको कम्युनिष्ट आन्दोलन र त्यसबेलाको परिस्थितिपछि राष्ट्र र जनताको मागले गर्दा अहिले आएर एकता सम्भव भएको बताउनुभयो ।

अध्यक्ष दाहालले विगतमा पनि एकताका प्रयास भए पनि विभिन्न कारणले हुन नसकेको बताए । “मैले २०५० सालमा पनि तत्कालीन मालेका महासचिव मदन भण्डारीलाई एकताका लागि आग्रह गरेको थिएँ, तर उहाँको असामयिक निधनका कारण एकता हुन सकेन ।” उनले भावुक हुँदै भने, “यदि मदन भण्डारी भएको भए एकता पक्कै त्यति बेलै हुन्थ्यो होला ।”