सम्पादकीय

डेंगु रोगबारे प्रहरीको प्रशिक्षण



सर्वसाधारणलाई नआँत्तिन प्रहरी अस्पतालका चिकित्सकको सुझाव

केही दिनदेखि महामारीको रुपमा फैलिएको डेंगुरोगबारे चेतना फैलाउन नेपाल प्रहरीले अघि सारेको सचेतनामूलक प्रशिक्षण कार्यक्रम भारी वर्षाको विच शनिबार पेप्सीकोला टाउनप्लानिङ्गमा सम्पन्न भयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी प्रभाग काँडाघारीको पहलमा जागरण महिला अभियान काँडाघारीले आयोजना गरेको सचेतनामूलक प्रशिक्षण कार्यक्रममा ठुलो संख्यामा त्यस भेगका गृहिणी महिलाहरुको सहभागितो थियो ।

सहभागीहरुलाई डेंगु रोग, यसको पहिचान, यसबाट बच्ने उपाय, डेंगुको लक्षण र उपचारबारे नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्रहरी निरीक्षक डा.प्रभाकर श्रेष्ठ र अर्का प्रहरी निरीक्षक डा.मोहम्मद फिर्दाैश आलमले बताएका थिए ।

प्रहरी अस्पतालका चिकित्सकद्वय श्रेष्ठ र आलमले डेंगुरोग महामारीको रुपमा फैलिएपनि रुघाखोकीजस्तो तुरुन्तै एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने उल्लेख गर्दै डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि मात्रै स्वस्थ व्यक्तिमा सर्ने प्रष्ट पारे ।

डेंगु ज्वरो करीव एकहप्तासम्म जारी रहने र यसको उपचार प्यारासिटामोल मात्रै भएकोले डेंगु संक्रमित व्यक्तिले बिर्सेर पनि एण्टिबायोटिक लगायत अरु औषधि खान नहुने बताउँदै चिकित्सकद्वयले अनुसन्धानकै क्रममा रहेको मेवाको पातको जुस खाएर या नरिवलको तेल लगाएर केही हदसम्म लामखुट्टेलाई भगाई डेंगु लाग्नबाट बच्न सकिने बताए ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रमुख, प्रहरी निरीक्षक सुधिरकुमार राईले डेंगु रोगको वास्तविकता भन्दा बजारमा बढी हल्ला र सर्वसाधारणमा त्रास छाएको पाइएको उल्लेख गर्दै डेंगु संक्रमित व्यक्तिले चिकित्सकसंग समयमै परामर्श गरेमा आत्तिन नपर्ने प्रष्ट पारे । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का अध्यक्ष कुन्दन खड्का, महिला जागरण अभियानकी अध्यक्ष जानकी ऐरी, काँडाघारी टोल सेवा समाजका सचिव केशव आचार्य तथा अभियानकी सुशिला नेपाल गुरागाई लगायतले बोलेका थिए ।

त्यस अवसरमा सो नगरपालिकाको ९ नं वडा कार्यपालिका सदस्य कला घिमिरे, डोलनाथ पोखरेल र वडा सदस्य सारा पुर्कुटीलगायत काँडाघारी र पेप्सीकोला टाउन प्लानिंगका विभिन्न सहकारी संस्थाका पदाधिकारी एवम् स्थानीय टोल सुधार समिति र क्लवका प्रतिनिधिको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

सर्वसाधारणलाई डेंगुरोगबारे सचेतनामूलक प्रशिक्षण सञ्चालन गरेवापत महिला जागरण अभियानको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का अध्यक्ष कुन्दन खड्काले नेपाल प्रहरी अस्पतालको साथै त्यस अस्पतालबाट सहभागी चिकित्सक र स्वास्थ्यकर्मी टोलीलाई उपहार प्रदान गरे ।

सचेतनामूलब कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्रहरी निरीक्षक डा.प्रभाकर श्रेष्ठ र अर्का प्रहरी निरीक्षक डा.मोहम्मद फिर्दाैश आलमका साथै सो अस्पतालका रामकैलाश यादव, गंगा बहादुर बिष्ट र नवराज साउदले उपस्थित केही सहभागीको निःशुल्क स्वास्थ्य परिक्षण गरि परामर्श दिएका थिए ।