सम्पादकीय

सामाजिक सुरक्षा कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन मन्त्री विष्टको आग्रह



श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न निजी विद्यालयलाई आग्रह गरेका छन् ।

आज काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आयोजना गरेको विद्यालय, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले सहज ढङ्गले वातावरण निर्माण गरेकाले जतिसक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न आग्रह गरेका हून ।

उनले भने, ‘फेरि कतैबाट कठिनाइ उत्पन्न भयो भने सरकारको काम कानूनको पालना गराउने नै हो, नियम सङ्गत भएको छ की छैन, बैंक खातामार्फत भुक्तानी भएको छ की छैन, त्यो माग्नु सरकराको कर्तव्य हो, सरकार त्यसतर्फ प्रवेश गर्न नपरोस् ।’

मन्त्री विष्टले सरकारले विद्यालयहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरण गर्न असोज मसान्तसम्मको समय सीमा तोकेको जानकारी गराए ।

शिक्षा मन्त्रालयले तोकेअनुसारको न्यूनतम तलब दिए नदिएको, बैंक खाताबाट भुक्तानी गरे नगरेको विषयमा विद्यालयलाई पत्र काट्न लागेको बेला प्याप्सनका पदाधिकारीको आग्रहमा तत्काल रोकेको जानकारी गराउँदै मन्त्री विष्टले भने, ‘सरकारको कामलाई धेरै खिल्ली उडाउने काम भयो भने सरकारको ध्यान जबरजस्त आकर्षित हुने खतरा हुन्छ, त्यतातर्फ जान बाध्य नबनाउनुहोस् ।’