काठमाडौँ, १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले गलत र अवैध तरिकाले दिइएको नागरिकता पाइए तत्काल खारेज गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले धेरै विदेशीहरुले गैरकानूनी रुपमा नागरिकता पाएको कुरा सुन्नमा आएको बताउँदै त्यसमा छानबिन गरेर खारेज गर्नुपर्ने बताउनुभयो । नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पार्दै उहाँले कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरीत भएको बताउनुभयो ।
रावलले नागरिकता विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको बताउँदै यसलाई अब विवादस्पद बनाउन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “२००९ सालदेखि यता प्रत्येक परिवर्तनमा नागरिकतालाई विवादस्पद बनाउने काम गरिएको छ । अनागरिक र विदेशीहरुलाई नेपालभित्र भित्र्याउने र जनसंख्याको राजनीतिबाट नेपाल राज्यको अस्तित्व समाप्त पार्ने षड्यन्त्र भैरहेको छ । केही मान्छेहरु अहिले पनि त्यो षड्यन्त्रमा तल्लिन छन् ।”
रावलले राज्य व्यवस्था समितिमा नेपाली कांग्रेसको तर्फबाट अन्तरिम संविधान २०६३ अनुसार नागरिकताको विषयमा जानुपर्छ भन्ने तर्क गरिएको र बालुवाटारमा पनि त्यही तर्क दिईयो अरे भन्ने आफूले सुनेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो तर्क सुन्दा मलाई आश्चर्य लागेको छ । म छक्क परेको छु । नेपाली कांग्रेसले नेपालको संविधानलाई मानेरै समर्थन गरेको हो भन्ने कुरा बुझेको हो मैले त । अब अहिले अन्तरिम संविधानअनुसार नागरिकताको विषयलाई टुँग्याइन्छ भन्नु यो सरासर नेपालको संविधानको अवेज्ञा हो । यदि नेपाली कांग्रेसले २०६३ सालको संविधानमा फर्केर जानुपर्छ भनेर तर्क दिएको हो भने म यहीँबाट पत्रकार साथीहरुको माध्यमबाट प्रश्न गर्न चाहन्छु–के नेपाली कांग्रेस नेपालको संविधान २०७२ अब मान्दिन भन्ने विन्दुमा पुगेको हो ?”










प्रतिक्रिया दिनुहोस्