राजनीति

सुस्ता र कालापानीमा बैज्ञानिक ढङ्गले सीमाकंन गर्नुपर्छ : बरिष्ठ नेता खनाल



काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारत सीमा क्षेत्र सुस्ता र कालापानीमा बैज्ञानिक ढङ्गले सीमाकंन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौँमा आयोजना गरिएको सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बोल्दै बरिष्ठ नेता खनालले अझैसम्म सुस्ता र कालापानीमा नेपालको सिमाङ्कन नभएकोमा गुनासो गर्दै भन्नुभयो, ‘सुस्तामा अझैसम्म सीमा अंकित गरेका छैनौं । कालापानीमा हाम्रो सिमाना अंकित भएको छैन । ती सीमाहरु अंकित गर्दा उन्नत प्रविधि प्रयोग गर्नुपर्छ ।’

उहाँले सीमा अंकित गर्दा कसैले सीमा स्तम्भ सार्दैमा वा निकाल्दैमा नसर्ने हुनाले प्रंविधिको प्रयोगबाट सीमा अंकित गर्नुंपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता खनालले राणा र पञ्चायतले विज्ञान र प्रविधिको विकासलाई रोकेका कारण नेपाल पछाडि परेको बताउँदै उहाँले भन्नुभयो, ‘राणाहरुले विज्ञानलाई महत्व दिँदैनथे । पञ्चायतले जनतालाई सूचनाको पहुँचमै जान दिएन । पछि राजतन्त्रले पनि नेपाललाई विज्ञान र प्रविधिको विकासमा अगाडि बढाउन बाधा पुर्यायो ।’

अहिले राजनीतिक, समाजिक र सूचनाको चेतनामा नेपाल अगाडि बढिसकेको उल्लेख गर्दै नेता खनालले भन्नुभयो, ‘अब ज्ञानको शासन व्यवस्था सुरु भएको छ । हामी विज्ञानको क्षेत्रमा प्रगति गर्न सक्छौं । अरुले गरेका विकासबाट पनि लाभ लिन सक्छौं ।’