राजनीति

रेडक्रस नगरकोट उपशाखाको १४औं उपशाखा सभा सम्पन्न



भक्तपुर, २ असोज । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १४औं उपशाखासभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सामाजिक र मानविय सेवा कार्यमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको रेडक्रसजस्तो संस्थाले सन्तुलित ढंगबाट आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख गेलालले विपद्, सामाजिक सेवा, द्वन्द्वको अवस्था, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा कार्य गरिरहेको रेडक्रसले आफ्नो भूमिकालाई सहि रुपमा उपयोग हुन सके रेडक्रसप्रति थप विश्वास अभिवृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा रेडक्रस भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले जहाँ दुखः त्यहाँ रेडक्रसको नारालाई आत्मसाथ गर्दै कार्य गरिरहेको बताउनुभयो । उहाँले काम गर्दा केही कमीकमजोरी हुनसक्ने उल्लेख गर्दै काम गर्नेकै आलोचना हुने भएकाले त्यसबाट पछि हटेर सेवा कार्यमा सक्रिय हुन छोड्न नहुने बताउनुभयो । विपत, एम्बुलेन्स सेवा र रक्त सञ्चार सेवा प्रदान गर्ने कार्यमा भक्तपुर जिल्ला शाखा र उपशाखाहरुको भूमिका महत्वपूर्ण हुने सभापति थापाको भनाई छ । सभामा सभापति सोम शर्मा (बजगाईं)ले नगरकोट उपशाखाद्धारा सञ्चालित एम्बुलेन्सबाट बार्षिक ४ सय ६५ जनालाई सेवा प्रदान गरेको जानकारी दिदैं ५४ जना असाहय, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको बताउनुभयो ।

सभापति बजगाईले उपशाखाले देशभरका एम्बुलेन्सहरुमध्ये सहुलियत शुल्कमा सेवा प्रदान गर्न ३० किमिसम्म एक सय रुपैयाँ र सो भन्दा बढि किमि क्षेत्रका लागि एक सय पचास रुपैयाँमा एम्बुलेन्स सेवा प्रदान गर्नका लागि अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका ७ नं. वडाका अध्यक्ष ज्ञान बहादुर केसी, रेडक्रस जिल्ला शाखा कोषाध्यक्ष प्रदिप केसी, सल्लाहकार निरञ्जन बजगाई, मधुराम लामिछाने, झझल्को सहकारीका अध्यक्ष मनोज केसी, मुहानगणेश सहकारीका उपाध्यक्ष राजकुमार लामिछाने, उपशाखाका उपसभापति कल्पदिप खड्का, विपद् समिति संयोजक बिजय लामिछाने केसीलगायतले रेडक्रस अभियान र भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । उपशाखा सभाले सचिव श्रीराम लामिछानेद्धारा प्रस्तुत प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष हरिशरण बास्तोलाद्धारा प्रस्तुत आर्थिक तथा प्रस्तावित बजेट पारित गरेको छ ।