Banner News

विकासको मूल फुटाएका छौं, सत्ता कब्जा गरौंला भनेर गौंडा ढुकेर बसेका छैनौं : मन्त्री पोखरेल



काठमाडौँ, २ असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको सरकारले देश विकास र समृद्धिको ढोका खोलेको बताउँदै सत्ता कब्जा गरौंला भनेर कुनै पनि गौंडा ढुकेर नबसेको बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेसनले आज काठमाडौंमा आयोजना गरेको बर्तमान संविधान र मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्नुहुँदै मन्त्री पोखरेलले कम्युनिष्टहरु सत्ता कब्जाको मौकामा हुन्छन् भन्नेहरुलाई समेत उहाँले प्रतिस्पर्धा र शान्तिपूर्ण राजनीतिबाटै परिर्वतन गर्न सकिने मान्यता स्थापित भइसकेकाले त्यस्तो भ्रम नपाल्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विश्व कम्युनिष्ट आन्दोलनमा कब्जा, विद्रोह जस्ता सत्ता चलाउने विधिहरु फेल भइसके, त्यसरी सत्ता चलाउन सकिन्न हामी त्यो पक्षमा छैनौ । विधिको शासन, लोकतन्त्र र संवैधानिक सर्वोच्वता स्विकार्ने कम्युनिष्ट पार्टी सरकारमा रहेको छ । आफुहरु मौका मिल्नासाथ विद्रोह वा सत्ता कब्जा गर्ने पक्षमा रहेका छैनौं ।’

जननेता मदन भण्डारीले नेतृत्व गर्नुभएको जनताको बहुदलिय जनवाद (जवज)का मुख्य तीन आधार रहेको बताउँदै यो विचारको रक्षा गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जवज नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरुको निरन्तरताबाट विकसित विचार हो । जवज विश्व कम्युनिष्ट आन्दोलनका नकारात्मक पक्षको निर्मम समिक्षा गर्दै बनेको मौलिक दर्शन समेत हो । हरेक कुरामा द्वन्द हुन्छ द्वन्दको सही तरिकाले हल गरिएन भने विस्फोट हुन्छ र ठूलो क्षती हुन्छ जवजले यो कुरालाई सही ढँगले बेलैमा हल गर्न प्रेरित गर्छ त्यसैले यो दर्शन र सिद्धान्त पनि हो ।’