Banner News

साना दुःखले आर्जेको संविधान होइन : सञ्चारमन्त्री बाँस्कोटा



काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको, जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कुण्ठाग्रस्त वर्गले धुप बालेर नबदलिने दाबी गरेका हुन् ।

उनले भने, ‘सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोज्नु ठूलो भूल हुनेछ, जुन कुरा असम्भव छ, यस्तो सपना इतिहासमा गइसक्यो ।’

मन्त्री बाँस्कोटाले सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोजिरहेका तत्वलाई वर्तमान संविधान कस्तो छ भन्ने ज्ञानसमेत नभएको उल्लेख गर्दै यस्ता वर्गको पतन अनिवार्य भएको बताए ।

उनले भने, ‘संविधान निरन्तर चलिरहन्छ, एक दुई असन्तुष्टिलाई लिएर व्यवस्थामाथिनै प्रहार गर्न खोज्ने विषय सफल हुन सक्दैन, अब चिहानबाट निरङ्कुश राजतन्त्रका कुनै पनि अवेशष फर्केर आउन सक्दैन ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।