तपाई आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नुभएको छैन ? छ भने उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ ।
बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा उनीहरुलाई नै काम गर्न प्रेरित गर्नुपर्छ । बालविशेषज्ञ डा. प्रज्ञा प्रधान भन्छिन्, ‘कुनै पनि काम गर्दा गल्ती भयो भने अरुको तुलना गर्नु हुँदैन, बरु उनीहरुलाई विस्तारै काम गर्न प्रेरित गर्नुपर्छ ।’ ‘हामीलाई लाग्छ, हाम्रा छोराछोरीले केही गर्न जान्दैनन्, त्यही कारण आफैं गरिदिन्छौं तर हामीले यसरी उनीहरुको काम गरिदिँदा वा सबै कुरामा सहयोग गर्दा उनीहरू परनिर्भर हुन्छन्,’ पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य बताउँछन् ।
परनिर्भरताले बालबालिकाको व्यक्तित्व विकास हुन नसक्ने उनको धारणा छ । उनी बालमनोविज्ञान विश्लेषण गर्दै भन्छन्, ‘बालबालिकाको काम उनीहरुलाई नै गर्न दिनु राम्रो हो । यद्यपि तपाईले आदेश दिए जसरी काम अह्राउनेभन्दा पनि प्रेरित गर्ने हो । बच्चाहरुलाई विद्यालयबाट फर्केपछि जुत्ता/मोजा सही ठाउँमा राख्न सिकाउने, झोला तथा लुगाहरू मिलाउन लगाउने र नास्ता उनीहरूलाई आफैं खान दिनुपर्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्