समाचार

भतिजाको हत्या आरोपितलाई जन्मकैद



सप्तरी, १२ असोज । सप्तरीमा भतिजाको हत्या अभियोगमा डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतले जनाएको छन । तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको अभियोगमा उनकै काकीलाई जन्मकैद सजायको फैसला भएको हो । घरमा खेलिरहेका बालकलाई २०७३ माघ २३ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले घटनाकै दिन उनलाई पक्राउ गरेको थियो ।

घटनाका बेला दाजुभाइ रहेका मृतकका बुबा धर्मदेव खङ्ग मण्डल र आरोपितका पति अशोक खङ्ग मण्डल सिलाइकटाइको कामका लागि भारतको मुम्बईमा बसिरहेका थिए । मृतकका हजुरबुवा रामदेव खेतमा तथा मृतकका आमा चन्द्रिका र हजुरआमा विणादेवी घाँस दाउरा गर्न जङ्गल गएकी थिइन् । त्यसैबेला जेठानी चन्द्रिकासँगको रिसइबीमा उनले भतिजाको हत्या गरेकी हुन् ।