काठमाण्डौ,१६ असोज ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ ।
सरकारी सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गर्नुभयो ।
उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ, , उहाँले भन्नुभयो । दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।
प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । महामहिम राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमण एकदम सफल हुन्छ उहाँले भन्नुभयो । चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ । रासस
प्रतिक्रिया दिनुहोस्