भक्तपुर, १९ असोज । पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ९८ स्वबासी परिवारलाई लालपुर्जा वितरण गर्दै कुनै पनि काम बोलीले नभई व्यवहारमा उतारेर जनताको माझ आइरहेको उद्घोष गर्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ४ कार्यालयले दधिकोटको चित्रपुरमा आयोजना गरेको स्वबासीहरुलाई लालपुर्जा वितरण, शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतका जनप्रतिनिधिले जनतालाई बोलिले आश्वासन दिने तर त्यसको कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाएको बताउँदै अबका दिनमा जनताले विकास र समृद्धिको पक्षमा दुःख पाउने दिन क्रमशः रुपमा समाप्त हुँदै जाने उद्घोष गर्नुभयो । विजया दशमीको उल्लाससँगै स्ववासीले लालपुर्जा पाएपछि अर्को उल्लास थप गरेको बताउँदै उहाँले जनताको माझ चुनावको समयमा प्रतिवद्धतालाई अक्षरस पुरा गर्दै गएको बताउनुभयो । एक युगमा एक पटक आउने अवसर चित्रपुरवासीले प्राप्त गरेको बताउँदै उहाँले जग्गा विहिन जनताको सपनालाई विपनामा परिवर्तन गरेको बताउनुभयो ।
भक्तपुरमा कुनै पनि राहत पाउन नेकपा हुनुपर्दैन तर सवै राहत पाएका जनता नेकपा हुने दिन आएको बताउँदै उहाँले जनतालाई घर घरमा सेवा प्रदान गर्नु नै सुशासन भएको उल्लेख गर्नुभयो । चित्रपुरमा क्रसरोड बनाउन लागेको चर्चा गर्दै सांसद बस्नेतले ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुँदै शिकारीटार, अनन्तलिङ्गेश्वर मन्दिर, कालिकाडाँडा हुँदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको बताउनुभयो ।
कार्यक्रममा ३ नं. प्रदेशका सांसद शशीजङ्ग थापाले भक्तपुरमा विकासको मूल फुटेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहको बजेटले दुईवर्षको अन्तरालमा गाउँ गाउँमा विकासका लहर आएको उल्लेख गर्नुभयो ।
त्यसअवसरमा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले दुई वर्षमा विकासमा निकै लामो फड्को मारेको र अबका तीन वर्षमा विकासले पूर्णता पाउने बताउनुभयो । वडा नं ४ दधिकोटका अध्यक्ष उत्तम थापालगायत विभिन्न व्यक्तिले विकासका गतिलाई रोक्न र अवरोध पु¥याउन नहुनेबारे चर्चा गर्नुभएको थियो ।
सयौँवर्षदेखि चित्रपुर बस्तीका रुपमा रहेको परम्परागत उक्त बस्तीका बासिन्दाले अहिलेसम्म लालपुर्जाविहीन हुँदा आफ्नै जग्गा र घरको भोग चलन गरे पनि अन्य प्रयोजनका लागि उपयोग गर्न पाएका थिएनन् । भूकम्पमा सिङ्गो बस्ती भत्किँदासमेत राहत लिन निकै समस्या परेको यहाँका बासिन्दाले अहिले भूकम्पबाट भत्किएका घर बनाएपछि भने लालपुर्जा पाएका छन् ।










प्रतिक्रिया दिनुहोस्