राजनीति

वाइडबडीको एकमहिने जापान उडान, १६ सय नेपाल भित्र्याउँदा ७ सय जापान गए



काठमाडौँ, १९ असोज । नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा (भदौ ११ देखि असोज १५ सम्म) काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरेको छ।

एक महिनामा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २६५ पुगेको छ । निगमका अनुसार गत मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २६५ जना यात्रु थिए । सबभन्दा कम यात्रु भदौ १३ गते थिए । उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए । यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३२६ जना यात्रु ओसारेका छन्। जसमा जापानबाट नेपाल आउनेको संख्या एक हजार ६ सय १८ छ। ७०८ नेपालबाट जापान जाने यात्रु थिए ।

निगमलाई हाल जापानले सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) उडान अनुमति दिएको छ । पहिलो उडानमा यात्रुको संख्या अत्यधिक न्यून भएपछि निगमले भदौ तेस्रो सातादेखि सातामा दुइटामात्रै उडान राखेको थियो ।

तर, दसैं र पर्यटकीय सिजन सुरु भएसँगै निगमले असोज ७ देखि सातामा तीन दिन उडान सुचारु गरेको छ । निगमले दसैं र तिहारको अवधिमा २ सय हाराहारी यात्रुको एकतर्फी बुकिङ भएको जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।