काठमाडौँ, २० असोज । नेपालीहरुको महान् चाड विजया दशमी (दशैं) हर्षोउल्लासका साथ मनाइदै छ । यसै क्रममा विभिन्न दलका नेता तथा विशिष्ठ व्यक्तित्वहरुले दशैं यसरी मनाउँदै हुनुहुन्छ,
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दशैंमा प्रधानमन्त्री निवास बालुवाटारमा नै कार्यकर्ता, शुभेच्छुकलाई टीका लगाई दिने कार्यक्रम छ । प्रधानमन्त्री ओली नवमीमा भने गृह जिल्ला झापामा हुनेछन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले यसपालीको दशैं टीकारहित भेटघाटमा काठमाडैंमै बित्नेछ । छोरा प्रकाश दाहाल बितेको वर्षदिन नपुगेकाले यसपाली दाहालले टीका लगाउने र लगाइदिने छैनन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँको बुढानिलकण्ठस्थित निवासमा कार्यकर्ता र आफन्तजनलाई टीका लगाइदिने कार्यक्रम छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफन्तकार्यकर्ता, शुभेच्छुकलाई टीका लगाई दिने कार्यक्रम छ । त्यस्तै उहाँ दशैँ र तिहारको बीचमा भने खनाल गृहजिल्ला इलामको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले हजुरबुबा दिव्यकुमार उपाध्याय र कार्की शान्ता नेपालको हातबाट टीका लगाएपछि नेपालले परिवारका अन्य सदस्य तथा कार्यकर्ता, शुभेच्छुकलाई टीका लगाई दिने कार्यक्रम छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालाजु बोहोराटारस्थित निवासमा परिवारसँगै दशैं मनाउने कार्यक्रम रहेको छ । दशैंमा पौडेलले भाउजूसँग टीका लगाउनुहुनेछ ।
काँग्रेस उपसभापति विमलेन्द्र निधिले यसपालिको दशैं भारतको कोलकातास्थित ससुरालीमा मनाउँदै छन् । एक साता कोलकातामै बसेर पारिवारसहित धार्मिक घुमघाम गर्ने कार्यक्रम छ ।
राप्रपाका अध्यक्ष कमल थापाले काठमाडौंमै दशैं मनाउँदै कार्यक्रम रहेको छ भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाको दशैं बेलायतको लन्डनमा बित्नेछ । राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरको दसैं महोत्तरीमा बित्दै छ ।










प्रतिक्रिया दिनुहोस्