झापा, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आचरण र व्यवहारको मतलब हुने बताउँदै कानुनी राज्यमा ठूलो र सानो भन्ने कुरा नहुने साथै गल्ती गर्ने ठूला साना कोही नछुटठ्याई कारवाही हुने बताउनुभएको छ ।
नेपाली हरुको महान चाड विजया दशमी, शुभ–दिपावली, छठ लगायतका पर्वहरुको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई दमकमा सम्बोधन गर्दै उहाँले जनताको अभिमतद्वारा वर्तमान सरकार निर्माण भएको बताउँदै जनताको शिर ठाडो बनाउने उद्घोषका साथ कसैले पनि नाक मै कालो दलो भन्ने अवस्था आउन नदिने उद्घोष गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कसैको केही आचरणमा तलमाथी पर्यो भने छाडिन्न । ठूलो र सानो भन्ने कुरा हुदैन । ठूला सानाको मतलब छैन, आचरण र व्यवहारको मतलब छ । भ्रष्ट हुन्छ भने जो सुकै पदमा भएपनि भ्रष्टमाथी कारवाही हुन्छ ।’
प्रधानमन्त्री ओलीले देश र जनताका हितका लागि निष्ठापूर्वक अगाडी बढ्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईहरुले कहिले पनि छ्या भन्ने अवस्था वा यस्तालाई पनि भोट दिइएछ भन्ने अवस्था वा नाक मै कालो दलो भन्ने अवस्था आउने छैन । तपाईहरुको शिर ठाडो बनाउने छु । म सानो ठाउमा पहाडको घरमा जन्मिएको । गाइब्राखा चराउदै, भात पकाउदै भाडा माझ्दै खाली खुट्टा स्कुल गएको हु । ५५ वर्ष अगाडी राजनीति थालेको थिए । म धेरै पटक मरेर बाचेको । यो फाउको मेरो जिन्दगी दुरुपयोग गर्नु छैन । यसलाई सदुपयोग गर्नुछ देश र जनताका लागि ।’
प्रधानमन्त्री ओलीले दशकौंदेखी पछाडी परेको देश अब पछाडी पर्न नसक्ने उल्लेख गर्दै भन्नुभयो, ‘अढाइ सय वर्ष राजतन्त्रले थिलथिलो पारेको देश । २०४ वर्ष राणा शासनले थिचेको देश । अहिले डेढ वर्षमा सुनको नेपाल बन्ने होइन् । बाटा बन्ने हो, पुल बन्ने हो, खानेपानी बन्ने हो, स्कुल, विश्वविद्यालय, स्वास्थ्य केन्द्र बन्ने हो । बन्ने काम शुरु भएका छन् । जसले जे भनोस्, म भ्रष्टचार गर्दिन, गर्न दिन्न ।’
प्रधानमन्त्री ओलीले कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजे पनि त्यस्ता कुराहरूले समाजमा गलत प्रभाव मात्र पार्ने बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्