विश्व

चेन्नईमा सी चिनफिङलाई ‘रेडकार्पेट’



काठमाडौँ, २५ असोज । दुईदिने भ्रमणका क्रममा चेन्नई पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भारतले भव्य स्वागत गरेको छ । शुक्रबार चेन्नईस्थित विमानस्थलमा उत्रेका राष्ट्रपति सीलाई गभर्नर बनवरीलाल पुरोहित र उपमुख्यमन्त्री ओ पन्नेरसेल्भमले स्वागत गरेका हुन् । त्यलगत्तै उनलाई चेन्नईको तटीय सहर ममल्लापुरम लगिएको थियो ।

भारतको प्राचीन सहर ममल्लापुरमको चीनको फुजियान प्रान्तसँग पुरानो सम्बन्ध रहेको बताइन्छ । सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चेन्नईमा अनौपचारिक शिखर सम्मेलन हुँदैछ । विमानस्थलमा अवतरण गरेको केही समयमै ट्वीट गर्दै मोदीले सीलाई स्वागत गरेका थिए । उनले ट्वीटरमा लेखेका थिए, ‘महामहिम राष्ट्रपति, भारतमा स्वागत छ ।’

दुई नेताबीचको बैठकलाई गत वर्ष चीनको वुहानमा भएको अनौपचारिक बैठकको निरन्तरता ठानिएको छ । भारत र चीनबीच सीमा विवादको ७३ दिन लामो घम्साघम्सीपछि सन् २०१८ को अप्रिलमा मोदी र सीबीच चीनको वुहानमा वार्ता भएको थियो ।