काठमाडौँ, २७ असोज । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट पाँचौं आबुधाबी डायलगमा सहभागी हुन यूएई जाने भएका छन ।
कामदार लिने र दिने देशबीच हुने बहुपक्षीय छलफलको मन्त्रीस्तरीय पाँचौं आबुधाबी डायलगमा सहभागी हुन मन्त्री बिष्ट मंगलबार यूएई जाने कार्यक्रम रहेको छ ।
मन्त्रालयका अनुसार संवादमा सहभागी हुन मन्त्री बिष्टको नेतृत्वमा श्रम मन्त्रालयका सचिव, सह–सचिव र वैदेशिक रोजगार महाशाखाका प्रमुखसमेत यूएई जाने भएका छन । सवांदमा नेपालबाट मन्त्री नेतृत्वको टोलीसहित यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सिलर भेषबहादुर कार्कीको समेत सहभागिता रहनेछ ।
संवादमा एसियाली र खाडी देशहरूबीच कामदारको भर्ती र आयातका लागि भएका वर्तमान संयन्त्रबारे समीक्षा गर्दै थप निर्णय लिइने छ ।
छलफलमा कामदार पठाउने देशहरु नेपालसहित अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिहरुको सहभागिता रहनेछ । कामदार आपूर्ति गर्ने देशहरु यूएईसहित बहराइन, ओमान, कुवेत, कतार, साउदी अरब, यमन र मलेसियाका प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै, डायलगमा अन्तर्राष्ट्रिय श्रम संगठन, आप्रवासी कामदारको हकहितमा काम गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासमेत सहभागी हुँदै छन् ।










प्रतिक्रिया दिनुहोस्