विश्व

उत्तर कोरियालाई अक्टोबरसम्म लगानी फिर्ता लैजान विभागको निर्देशन



काठमाडौँ, १ कार्तिक । नेपालमा गरेको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली लगानीकर्ता तथा कम्पनीलाई पुनः निर्देशन दिएको छ ।

उद्योग विभागका अनुसार अक्टोबर महिनासम्ममा लगानी फिर्ता लैजान पुनः अर्को पत्र काटेको हो । सो निर्णयलाई समयमै कार्यान्वयन गर्न विभागले पुनस् पत्र काटेको जनाइएको छ ।

उत्तर कोरियालाई लगानी फिर्ता लैजान अब १५ दिन मात्र बाँकी छ। तर अहिलेसम्म उत्तर कोरियाले आफ्ना कुनै पनि उद्योगधन्दा बन्द गरेको छैन । उत्तर कोरियाले लगानी फिर्ता लैजान आलटाल गरेकाले अब के गर्ने भन्ने विषयमा उद्योग मन्त्रालयसँग छलफल भइरहेको छ ।

उत्तर कोरियाका लगानीकर्ताले नेपालमा २३ वर्षदेखि लगानी गरेको उद्योग विभागको तथ्यांक छ । २३ वर्षसम्म होटल रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट तथा अन्य सेवामूलक क्षेत्रमा भएको उत्तर कोरियालीको लगानी अब फिर्ता लैजन सरकारले आग्रह गरेको छ ।

अहिलेसम्म उत्तर कोरियालीको नेपालमा १८ करोड ६५ लाख ४९ हजार २ सय रूपैयाँ लगानी गरेको विभागको तथ्याङ्कले देखाउँछ । नेर्कोयो अस्पताल, होटल रेमिनी एण्ड रेष्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल रेष्टुरेन्ट, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङ रेष्टुरेन्ट एण्ड बार, हिमालयन सोजे रेष्टुरेन्ट, मिनस रेष्टुरेन्ट एण्ड बार र सफ्टवेयर डेभलपमेन्टलगायत ८ वटा उद्योगमा उत्तर कोरियाको लगानी छ ।