राजनीति

राष्ट्रपति भण्डारी म्यान्माबाटै आज जापान जाँदै



काठमाडौँ, ३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै हुनुहुन्छ ।

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा पुग्नुभएकी राष्ट्रपति भण्डारी त्यहाँको राजकीय भ्रमण सम्पन्न गरी जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी हुन जापान जान लाग्नुभएको हो । उहाँ सहितको नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गर्नुभयो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।