एजेन्सी, ३ कार्तिक । क्वन्टास एयरलाइन्सले लगातार १९ घण्टाभन्दा बढी समय उडान गरेर कीर्तिमान रचेको छ ।
एजेन्सीहरुका अनुसार क्वन्टासको ‘क्युएफ ७८७९’ उडान नम्बरको विमान न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार शनिबार राति ९ बजे ५० यात्रु तथा चालक दलका सदस्य लिएर उडेको थियो ।
विमानलाई न्युयोर्कबाट सिड्नीसम्म १६ हजार २०० किलोमिटर दूरी पार गर्न १९ घण्टा १६ मिनेट समय लागेको थियो । क्वन्टासले लामो दूरीमा ‘ननस्टप’ व्यावसायिक उडान गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो ।
सो एयरलाइन्सका अधिकारीहरुका अनुसार तीनवटा परीक्षण उडान गर्ने तालिकाअनुसार पहिलो परीक्षण उडान गरिएको हो । चालक दलका सदस्य तथा यात्रुको स्वास्थ्यमा प्रतिकुल असर नपरेको पाइएमा सन् २०२२÷२३ देखि उक्त रुटमा व्यावसायिक उडान गर्ने लक्ष्य रहेको एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्