समाचार

चिसो बढ्यो



काठमाडौँ, ७ कार्तिक । काठमाडौँ उपत्यकाको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौँको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

बुधबार काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै, आज बिहान जुम्लाको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिँदा विराटनगरको भने सबैभन्दा धेरै २२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारण केहिदिन यता नेपालको मौसममा बदली भइरहेको छ । बिहीबार पनि यसको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी भेगमा हिमपात भएकाले पनि देशभरीकै तापक्रम घटेको हो । यस्तै, मध्य र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको र उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।