भक्तपुर, ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेपाल सम्बतको अवसरमा आयोजित नेपाल संवत् ११४० को सन्दर्भमा भक्तपुरमा आयोजित राष्ट्रिय विभू्ति शङ्खधर साख्वको प्रतिमूर्तिमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेकोबताउँदै भन्नुभयो, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन् । हाम्रो राष्ट्रका निम्ति राजनीतिक स्थायित्व जरुरी छ र तपाईंहरूले बलियो सरकार भएको हेर्न नचाहने प्रवृत्ति विरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्छु ।’
उहाँले भन्नुभयो, “संविधान निर्माण गरेपछि कताबाट राष्ट्रिय एकता र राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ भनेर धेरै चिन्तन मनन गर्यौं । दुईठूला पार्टी एकता गरेर मात्रै देशमा स्थिर सरकार र विकास–निर्माणलाई गति दिन सम्भव छ भनेर हामीले पार्टी एकता गर्यौं । यसलाई सुदृढ गर्ने निकै ठूलो जिम्मेवारी छ । पार्टी एकतालाई सुदृढ तुल्याएर राष्ट्रिय एकता कायम गर्ने, स्थिर सरकार कायम गर्ने, समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने धेरै ठूलो जिम्मेवारी छ । तर विभिन्न खालका परिवर्तनविरोधी, प्रगतिविरोधी र निङ्कुश प्रवृत्तिका मान्छेहरूले यो मन पराएका छैनन् । देशमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनेको, कम्युनिस्ट एकतावद्ध भएको मन परेको छैन । कम्युनिस्टहरूले शासन गरेको पुराना शासकहरूलाई मन परेको छैन ।”
उहाँले विभिन्न खालका परिवर्तनविरोधी, प्रगतिविरोधी र निङ्कुश प्रवृत्तिका शक्तिहरू रातदिन कम्युनिस्टलाई कसरी कमजोर पार्न सकिन्छ ? कम्युनिस्ट सरकारलाई कसरी बदनाम बनाउन सकिन्छ ? पार्टी र नेताहरू भित्र के गरी विवाद पैदा गर्न सकिएला भनेर लागि परेको बताउनुभएको छ । उहाँले आफू प्रधानमन्त्री हुँदा नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरे पनि सरकारले व्यवहारमा लागू नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट जसरी प्रयोगमा ल्याउनुपर्ने हो, त्यो हुन सकेको छैन ।’










प्रतिक्रिया दिनुहोस्