काठमाडौँ, १२ कार्तिक । यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका नेपालीहरुले दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ ।
११ बजेर ५५ मिनेटमा रहेको उत्तम साइतमा नै सबैले भाइटीका लगाइदैछ । साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पञ्चाङ्ग निर्णायक समितिको भनाई छ ।
यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो । यस्तै किंवदन्तीहरुका अनुसार कात्तिक शुक्ल द्वितीया विशेष कारणले महत्वपूर्ण छ ।
दिदिबहिनीले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।
आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन । तिथि घटबढका कारण केही नेवार समूदायले भने भोलि भाइटीका लगाउँदैछन् ।
भाइटीकाको विधि
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । अश्वस्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मिठो(मिठो परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ ।
त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ ।
सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।










प्रतिक्रिया दिनुहोस्