Banner News

म आफैंले आन्दोलन गर्ने अवस्था नआओस् : अध्यक्ष दाहाल



काठमाडौँ, १४ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘जनकपुर-पिपरा-जलेश्व-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’

१४ मंसिरमा पिपरा गाउँपालिका अध्यक्ष चयनका लागि हुने उपचुनाव आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै प्रचण्डले भने, ‘विगतमा पनि मैले मधेशसँग मेरो प्रेम छ भनेको थिएँ, अहिले फेरि दोहोर्‍याएर भन्छु मेरो मधेश प्रेम जारी नै छ ।’  ‘संविधान मधेशी जनताले भने अनुसार आएन की भन्ने जुन प्रश्न छ, संविधान संशोधनका लागि दुई बुँदे सहमतिमा प्रधानमन्त्री ज्यू र मैले हस्ताक्षर गरेका छौं ।’