समाचार

घुससहित प्रहरी नायव निरीक्षक पक्राउ



बारा, १५ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक जना प्रहरी नायव निरीक्षकलाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो । कपडा ब्यापारीलाई तस्करीको लाइन मिलाई दिने भनी प्रहरी नायब निरीक्षक कलवारले घुस मागेको अख्तियार स्रोतले जनाएको छ ।

प्रनानि कलवारलाई कलैया उपमहानगरपालिका-४ मन्दिर चोकबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।