काठमाडौँ, १६ कार्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि विकास निर्माणको कार्यमा जनताको चासो र सहभागिता अपरिहार्यता रहेको बताउँदै जनताको तिव्र विकास प्रतिको चाहना क्रमिक रुपमा बर्तमान सरकारले पुरा गर्ने बताउनुभएको छ ।
काठमाडौँको धुम्बाराहीमा धन्वन्तरी पार्कको शनिबार उद्घाटन गर्दै पोखरेलले जनताको सहभागितामूलक काम नै विकास र समृद्धिको आधार भएको बताउँदै सार्वजनिक सम्पत्ती जनताको नै सम्पत्ती भएकाले जनता जाग्नुपर्ने तथा आ–आफ्नो ठाउँबाट उठ्नुपर्नेमा जोड दिनुभएको छ ।
अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताउँदै जनतालाई विकास प्रति स्वामित्व बोध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने स्पष्ट पार्नुभयो । उहाँले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्ने मा जोड दिँदै भन्नुभयो, ‘स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ । जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।’
कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताउँदै संघीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उनले अहिले विकासका कामले गति लिएको दावी गर्नुभयो । उहाँले पार्कको स्तरउन्नतीको लागि प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
उक्त पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब १२ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको वडा ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्