राजनीति

जनताको जीवनस्तर उकास्न सके मात्रै संविधानको कार्यान्वयन : अध्यक्ष तिमिल्सिना



ताप्लेजुङ, १७ कार्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याउनुभयो ।

शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले प्रदेशसभाले समेत संविधानअनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । परम्परागत सोच र शैलीबाट माथि उठेर काम गर्न सके मात्रै जनताले दिएको जिम्मेवारी पूरा हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने उहाँको भनाइ थियो ।