राजनीति

जनताको चाहना पुरा गर्न एक सेकेण्डको महत्व राखि सरकार अघि बढ्छ : सांसद बस्नेत



भक्तपुर, १८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपा नेतृत्वको सरकारले देशभर विकासको सवै ढोका खोलेकाले विकासबाट विच्किएका केही राजनीतिक दलहरु विरोधको आवाज निकालेको बताउनुभएको छ ।

नेकपा चाँगुनारायण नगरपालिका वडा नं. एकले आयोजना गरेको विजय दशमी, दिपावली, नेपाल सम्वत, छठलगायतका नेपालीहरुको पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले भ्रष्टाचारी, दलाली, अपराधी, भू–माफिया, अनियमिताकारीलगायतले सरकारले पछिल्लो समयमा कानुनी दायरामा ल्याएसँगै आफ्नो क्षमताले भ्याएसम्म विरोध गर्ने गरेको स्पष्ट पार्नुभयो । उहाँले विरोधले त्यस्ता प्रकारका गतिविधिलाई सरकारले निस्तेजा पार्न सरकार निर्मम भई अघि बढ्नेमा सम्पूर्ण जनता ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘किटनाशाक स्प्रे छर्केपछी पलङमुनीका लामखुट्टेहरु एक्छिन कांईकुई गर्छन । सरकार बिरुद्दका चिच्याहट पनि ठीक यस्तै खालका प्रबृतीहरु हुन । सरकार त्यस्तासँग पछि हट्दैन । जनताको चाहना पुरा गर्न एक सेकेण्डको महत्व राखि तत्काल अघि बढ्छ । जनताको मत भ्रष्टाचार गर्नेहरुको लाइसेन्स नवनोस्, सदनको पछिल्लो वेन्चमा बसेर विरोधको सूचनामात्र प्रस्तुत गर्नेमा नपरोस् । भक्तपुरको समृद्धिको नेतृत्व गर्न सक्ने जनप्रतिनिधि चयन गर्नुपर्छ ।’

नेकपाले गफ गर्ने नभई काम गरेर देखाउने उल्लेख गर्दै सांसद बस्नेतले राजनीतिका नाममा हुने अनेक प्रकारको गतिविधिलाई अन्त्य गराउने नेपालको एउटै मात्र पार्टी नेकपा भएको उल्लेख गर्नुभयो । जनताको एकमात्र चाहना विकास र समृद्धि भएको जसलाई पुरा गर्ने पार्टी नेकपा मात्रै रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा नेकपाभन्दा फरक पार्टीले जित्नु भनेको हलुवामा वालुवा भनेजस्तो मात्र हुने समेत उल्लेख गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टी (नेकमकिपा) विकास विरोधी भएकाले भक्तपुरको विकासको ढोकालाई अध्यारो बनाएको उदाहरण प्रस्तुत गर्दै उहाँले देशको विकासको ढुकुटीको जिम्मा नेकपाले लिने बताउनुभयो । सडक तथा सदनमा विरोधको सूचना प्रस्तुत गर्दा गर्दै समय वर्वाद गरेको समेत उल्लेख गर्नुभयो । नेकपाले विकासको कुनै एक सय मिटरको दौडमा लागेको नभई म्याराधुन गरिरहेको बताउँदै उहाँले भक्तपुरको विकासको जिम्मा नेकपाको भएको जसमा भक्तपुरको विकासको नेतृत्व नेकपाले गर्ने र आफु अहोरात्र खटिने समेत प्रतिवद्धता जनाउनुभयो ।

मनोहरा करिडोर एक अर्व रुकम प्राप्त भएको वीरअस्पतालसम्म निर्माण हुने जानकारी गराउँदै उहाँले भक्तपुरमा सडक, पुल, खानेपानी, विद्युत, शिक्षा, पर्यटनलगायतका विकासका कामहरुको व्यापक मात्रामा जनताको चाहना अनुसार भइरहेको उल्लेख गर्नुभयो ।

जनताले विवेकपूर्ण निर्णय हुने चुनाव भएको उल्लेख गर्दै उहाँले नेकपाका नेता तथा कार्यकर्ता एक ढिक्का भई उपनिर्वाचनमा विजयको ढोका खुल्ला गर्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल इन्जिनियरीङ कलेजको भ्रष्टाचार र अनियमितता अन्त्य गर्न नेकपा तयार रहेको र त्यसलाई अन्त्य तथा कारवाही गरेरै छोड्ने प्रतिवद्धता जनाउँदै अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकले घुसको लोभमा भक्तपुरवासीको जनचाहनामा कालोबादल लगाउने प्रयास गरेको तर अख्तियार तथा जनप्रतिनिधिको सक्रियतामा उक्त कार्य असफल भएको बताउनुभयो ।

पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा नेपालले उत्साहका साथ अघि बढिरहेको जानकारी गराउँदै उहाँले सुरुङमार्ग, जलमार्ग, हवाई मार्ग, जलमार्ग, सिचाईका परियोजनालगायतका ठूला ठूला आयोजनाहरु तिव्र गतिका साथ अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘पाप धुरीबाट कराउँछ भने झैं हिजो सत्ताको आडमा भु–माफिया, भ्रष्टाचार, हिंसा, हत्या, बलात्कारजस्ता जघन्य अपराधिक गतिविधि गरिएको तर अव ति सवै विकृति तथा विसंगतिको अन्त्य वर्तमान सरकार निर्मम भएर अघि बढ्छ ।’