राजनीति

सरकारले आफ्नो स्पिरिटमा काम गर्न नयाँ प्रदेश प्रमुखको चयन : महासचिव पौडेल



काठमाडौँ, १८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरुको चयन प्रक्रिया अघि बढाएको स्पष्ट पार्नुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पौडेलले प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भएको छ । उहाँले संवैधानिक प्रक्रियाअनुसार नै प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्दा अन्य दलहरुसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने आफूलाई नलागेको पनि बताउनुभयो ।

प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रुपमा रहने भएकाले अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरुलाई हटाउने काम स्वभाविक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘संवैधानिक व्यवस्थाअनुरुप नै प्रदेश प्रमुखहरु पदमुक्त भएका छन् र सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ, सरकारले संवैधानिक प्रक्रिया अनुसार त्यो काम गर्दाखेरी अन्य दलहरुको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन ।’

आइतबार नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो ।

पार्टीले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलोनी (डडेलधुरा), विष्णु प्रसाईँ (झापा) र शर्मिला त्रिपाठी (काठमाडौँ)को नाम प्रदेश प्रमुख पदका लागि सिफारिस गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई गएको आइतबार पदमुक्त गरिएको थियो ।