Banner News

नेपाल भर्जिन ल्याण्ड हो, लगानीको वातावरण बन्दैछ : मन्त्री ज्ञवाली



काठमाडौँ, १९ कार्तिक । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विदेशी लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको बताउनुभएको छ ।

विभिन्न सञ्चार माध्यमका सम्पादक र बरिष्ठ पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नो कार्यकालको २० महिनाका उपलब्धीहरुको संक्षिप्त समीक्षा गर्नुभयो । हरेक ६ महिनामा गरिने यो तेस्रो अन्तरक्रिया गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘एनसेलको चाहिँ अलिकति गज्याङ-मज्याङ भयो । एडमिनिस्ट्रेटिभ समस्या हो जस्तो लाग्छ । तर, स्टाण्डर्ड चार्टर्ड बैंकको धेरै मुनाफा छ । युनिलिभरलगायतले नाफा कमाइरहेका छन् । एनसेलमा ट्याक्स लगाउने सिद्धान्तमै केही गज्याङ-मज्याङ छ जस्तो लाग्छ । अरुमा समस्या छैन । दोहोरो करका सम्बन्धमा पनि धेरै गुनासाहरु सुनिएका छन्, यी समस्यालाई समाधान गर्‍यौं भने लगानीकर्ताहरु आश्वस्थ हुन्छन् । हाम्रा सबै अंगहरुलाई लगानी मैत्री बनाउनुपर्छ । हामीलाई अहिले लगानी चाहिएको छ ।’

जिम्मेवारी सम्हालेको २० महिना हुन लागेको र त्यसबीचमा भइरहेका गतिविधिबारेमा जानकारी गराउँदै उहाँले बिरासतमा केही समस्याहरु सिंगो सरकारमा जस्तै परराष्ट्र मन्त्रालयमा पनि बोकेर नै परराष्ट्रको जिम्मेवारीमा आएको उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘लामो संक्रमणकालको असर राज्यका सबै अंगहरुमा परेका छँदैछन् । त्यो संक्रमण कालको असर हाम्रो विदेश नीतिमा पनि प्रभाव थियो ।’

नेपालले चीनको नक्कल नगर्ने भए पनि चीनबारे संसारले अध्ययन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सबैका राम्रा कुराहरु सिक्नुपर्छ । तपाईलाई मन परोस् नपरोस्, तपाईले चीनलाई नपढी सुख छैन । महिनै पिच्छे गान्धी विचारधाराका विषयमा पनि काठमाडौंमा गोष्टीहरु हुन्छन् । प्रदीप गिरी, विमलेन्द्र निधिहरु त्यसमा सहभागी हुनुहुन्छ, यसको अर्थ हामी भारतको आइडियोलोजीबाट गाइडेड छौं भन्न मिल्दैन ।’

सरकारले चीन र भारत दुबै देशसँग सन्तुलित सम्बन्ध राखेको बताउँदै मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीवीचको व्यक्तिगत सम्बन्धसमेत सुमधुर बनेको स्पष्ट पार्नुभयो ।