राजनीति

सरकार जनताको जीवन फेर्ने अभियानमा छ : प्रवक्ता श्रेष्ठ



झापा, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनतासँग पार्टीले गरेका बाचा र जनाकांक्षा पूरा गर्ने अभियानमा सरकार जुटेको उल्लेख गर्दै सरकार जनताको जीवन फेर्ने र विकास गर्ने अभियानमा जुटेको बताउनुभएको छ ।

नेकपा झापाको प्रचार विभागले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकार सञ्चालनका दुई वर्षमा धेरै काम भएका उल्लेख गर्दै केही कमीकमजोरी भए त्यसलाई सुधार्दै लगिने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक क्रान्तिलाई समृद्धिसँग जोड्ने काम भइरहेको छ । दुई वर्षको अवधिमा धेरै काम भएका छन्, अझ धेरै गर्न बाँकी छन्, केही कमीकमजोरी भएका होलान्, त्यसलाई सुधार्नुपर्छ ।”

मुलुकमा विदेशी हस्तक्षेप हुन नदिइने बताउँदै उहाँले नेपालका बारेमा नेपालीले नै सोच्नुपर्ने उल्लेख गर्दै पार्टी एकताका सन्दर्भमा साङ्गठनिक संरचना एकीकरण चाँडै सम्पन्न हुने जानकारी गराउनुभयो ।